काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामै भारतसँग राँगा मागेको स्वीकार गरेका छन् ।

आज (सोमबार) जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालमा भारतसँग राँगा मागेको बताएका हुन् । उनले भने, ‘राँगा आयो । पहिले नै कुरा गरेको रैछ ‘केपी शर्मा ओलीको पालामा कुरा गरेको हो’ हो केपी ओलीको समयमा कुरा गरेको हो । यो नश्ल सुधारको कार्यक्रममा भारतले हामीले सुधारको गरोस् अनेक कुरामा गाई पालन भैँसी पालन बाख्रा पालन अरु विभिन्न कुरामा सहयोग गरोस् ।’
अध्यक्ष ओलीले आफू किशोर अवस्थामा राँगाको पिठ्ँयूमा चढेर भैँसी चराउने गरेको किस्सा पनि झिके । उनले भने- यहाँ राँगा चढेको कुराले फेरि बमिट हुने होला । बोमिट भए पनि के भन्न चाहन्छु भने म किशोर हुँदा खेर राँगाका पिठ्यूँमा बसेर भैँसी चराउँथे । मैले चढेको हो । पूर्वराष्ट्रपति रामवरण यादवजी र मेरो कुरा चल्दा मैले उहाँलाई मैले त राँगाको पिठ्यूँमा चढेर भैँसी चराएको भनेर भने, उहाँले झन म त तराईको मान्छे राँगामा चढेर कति चराइयो चराइयो भन्नुभयो ।’
उनले राँगाको विषय विवादको कुरा नभएको पनि बताए । उनले भने, ‘विवाद यी कुरामा होइन राँगाको पिठ्ँयूमा चढेर आए कि भैँसीको पिठ्यूँमा चढेर आए कि ? राँगा नाम गरेको जेट विमान हो कि ? यो कुरा विवादको कुरा होइन ।’
बैठकमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको जानकारीपछि थप प्रष्टिकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सांसदमा हंगामा भएको थियो । सत्तापक्षका सांसदहरुले नियमापत्ति गरेका थिए ।
खनालले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैले हालै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आएँ ।’ त्यसपछि सभामुख घिमिरेले उक्त शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा सो शब्द उच्चरण गरेको भन्दै सो पनि हटाउन माग गरेका थिए । केही बेरको अवरोधपछि सभामुख घिमिरेले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए । त्यसपछि सदन फेरि सञ्चालन भएको छ ।














