
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बाध्यात्मक अवस्थामा काम गर्नुपर्ने परिस्थिति रहेको बताएका छन् ।
काठमाडौँमा नेपाल माउन्टेन एकेडेमीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले कतिपय अवस्थामा पुराना ऐन कानुनका कारण बाध्यतामा परेर नचाहँदा नचाहँदै काम गर्नु परेको बताएका हुन् ।
पूराना ऐन कानुन अन्तर्गत काम गर्न धेरै समस्या रहेको भन्दै मन्त्री किरातीले विभेदकारी निर्णयहरूमा हस्ताक्षर नगरेर मन्त्री पद नै छोड्नुपर्ने परिस्थिति रहेको समेत बताएका छन् ।
गत वर्ष एक सगरमाथा आरोहीले सगरमाथामा १२ सेकेन्ड पियानो बनाएको घटनालाई दिएर बाध्य भएर उक्त आरोही, गाइड र भरियालाई कारबाही गर्नुपरेको स्मरण गर्दै पुराना ऐन कानुनका कारण मनले नचाहेर पनि कतिपय विषयमा निर्णय गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।
मन्त्री किरातीले भने– ‘एक जनाले गत वर्ष सगरमाथा आरोहण गरेका रहेछन् । चुचुरोमा १२ सेकन्ड पियानो बजाए छन् । मुद्दा पनि लागेछ । आरोहीसहित गाइडदेखि लिएर भरियालाई पनि समेत ५० हजार जरिवाना पनि लागेछ । मैले भने– म यो निर्णयमा सही गर्दिन । मेरो मनले मान्दैन, यो समय उचित छैन । अरूको देशमा हिमालबाट प्याराग्लाइडिङ गर्छन् । तर बाध्य भएर हस्ताक्षर गर्नु पर्यो । समयलाई रोक्न सकिँदैन, परिस्थितिलाई बोक्न ऐन कानुन चाहिन्छ । म पनि यो पुरानो ऐन कानुनमा सही गर्दा गर्दै दिक्का भएको छु ।’
यसै विषयलाई लिएर मन्त्री किरातीले पूराना ऐन कानुनहरूका आधारमा हुने निर्णयमा हस्ताक्षर नगरेको भए मन्त्री पद त्याग्नुपर्ने परिस्थिति रहेको समेत खुलासा गरेका छन् । मन्त्री किरातीले भने– ‘सही नगरूँ मन्त्री छोडी हाल्नुपर्छ, गरूँ मन मान्दैन । मैले अस्ति भर्खरै मात्र मनले नमान्दा नमान्दै सही गर्नु पर्यो । त्यहाँबाट छोडेर जाम हाम्रो आवाज उठाउने कोही हुँदैन ।’
मन्त्री किरातीले पुरानो ऐन कानुनका कारण उनीहरूलाई कारबाही नगरेको भए उक्त कम्पनीका सगरमाथा आरोहण गर्नेहरूले सम्मान–पत्र नै नपाउने, कम्पनी कालो सूचीमा पर्ने र गाइडहरूको इजाजत पत्र पनि खारेज हुने भएकाले बाध्य भएर आफूले जरिवाना केही कम बनाएर हस्ताक्षर गरेको बताए ।
मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि पूराना ऐन कानुनहरू परिवर्तन गर्न आवश्यक रहेको समेत बताएका छन् । उनले भने– ‘पर्यटन क्षेत्रको बाधक रहेका ऐन कानुनहरू परिवर्तन गर्नुपर्छ । ३५ सालमा बनेको पर्यटन हिमाल ऐन रहेछ । त्यो समय सापेक्ष बनाउन आवश्यक छ ।’
हालै मात्र नेपाल माउन्टेन एकेडेमीमा अध्ययनरत ब्याचलर अफ माउन्टेनियरिङ स्टडिजका दोस्रो ब्याचका ८ जना विद्यार्थीले हिमलुङ हिमाल (७,१२६ मिटर) काे सफल आरोहण गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममार्फत उनीहरूलाई मन्त्री किरातीले सामान गरेका छन् ।














