Logo
Logo

प्रज्ञामा माघे संक्रान्तिबारे प्रवचन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा ‘माघे संक्रान्तिको सांस्कृतिकले महत्व’ विषयक प्रवचन कार्यक्रम गरेको छ । कमलादीस्थित प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित प्रवचन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति तथा संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले माघे संक्रान्तिको सांस्कृतिक, धार्मिक एवं वैज्ञानिकताबारे प्रकाश पारेका थिए ।
उनले माघे संक्रान्ति, मकर संक्रान्ति, माघीलगायतका नामले चिनिने यस पर्वलाई किरातहरूले नयाँ वर्षका रुपमा परम्पारकालदेखि नै मनाउने गरेको उल्लेख गर्दै हिन्दू धर्म मान्नेहरूले पनि धुमधामसँग यो पर्व मनाउने गरेको बताए ।
कार्यक्रममा उपकुलपति डा. गुरुङले माघे संक्रान्ति पर्व नेपालका विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डुु र तरुल खाएर मनाउने गरेको बताउँदै यस पर्वको ठूलो वैज्ञानिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको प्रष्ट्याए ।
यस दिन देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मान्छि । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
प्रवचन कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल र प्राज्ञ सभा सदस्य शशी लुमुम्बू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्