
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत हनानले बिहीबार नयाँ बानेश्वर पुगेर नीधिसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको नेता निधिको सचिवालयले जनाएको छ । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत गोडरले चर्चा गरेका थिए ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसँगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको थियो । नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेता निधिले दुई देशबीच भएका सम्झौता शीघ्रातिशिघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा राजदूत गोडरले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिएका थिए । नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स निर्माणका लागि समझदारी भएर नेपालले त्यसका लागि ठाउँहरू उपलब्ध गराएको थियो ।














