Logo
Logo

कृषि विकास बैंकद्वारा ६ वर्षयताकै उच्च लाभांस घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कृषि विकास बैंकले ६ वर्षयताकै अधिकतम लाभांश घोषणा गरेको छ । बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांस दिने भएको हो । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले उक्त लाभांसको प्रस्ताव गरेको हो । बैंकले वितरणयोग्य संचित मुनाफाबाट बोनस शेयर र गत वर्षको नाफाबाट नगद लाभांस दिने भएको छ ।

बैंकको हालको चुक्ता पुँजी ९ अर्ब १५ करोड रूपैयाँ छ । यसको ६ प्रतिशत बोनस शेयर प्रदान गरेपछि साधारण शेयर पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ । नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरको लागि भने ६ प्रतिशतका दरले यो वर्ष ३२ करोड ५९ लाख रूपैयाँ नगद प्रदान गर्नेछ । बोनस शेयर वितरणपछि नेपाल सरकारको अग्राधिकार शेयरसहित चुक्ता पुँजी १४ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकले गत वर्ष ४ अर्ब ३५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो । बोनस शेयर, नगद लाभांस र अग्राधिकार शेयरका लागि समेत गरेर बैंकले यस वर्ष ३ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्ने भएको हो । सोही वित्तीय विवरणअनुसार जगेडा कोषमा १० अर्ब ४० करोड रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्