Logo
Logo

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोध तत्काल हटाउनुपर्छ : चन्द्र ढकाल


378
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोध तत्काल हटाउनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान)को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताए ।

उनले अहिले कुल जडित क्षमताको दुई तिहाइभन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताए । तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युतसमेत बिक्री गर्न नसकेको बताए । निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोध तत्काल हटाउनुपर्ने उनको भनाई छ ।

जलविद्युत् विकासको कुरा दशकौंदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय रहेको र राज्यबाट थोरै मात्र सहयोग भए पनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्टलगायत क्षेत्रमा देखिएको उनको भनाई छ ।

अबको केही वर्षमा ऊर्जा उत्पादनले तीव्रता पाउने उनले बताए । ‘अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्