विराटनगर । चर्चित र्यापर गिरिश खतिवडाविरुद्ध मोरङ प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ । विराटनगरमा खतिवडाले सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’मा धनपालथान-४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएपछि खतिवडासहित ३ जनाविरुद्ध हत्या आरोपमा प्रहरीमा किटानी जाहेरी परेको हो ।

प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर–८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका–३ का करण राजवंशी र विराटनगर–१६ का अनुराग राउतविरुद्ध जाहेरी परेको छ । मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको मृतकका परिवारले जनाएको छ ।
यही ३ असारमा बिहान ११ बजे क्याफेमा मासुको पैसा उठाउन गएका अन्सारीको रहस्यमय मृत्यु भएको थियो । कर्सिया बजारमा ‘चाँदनी फ्रेस हाउस’ सञ्चालन गर्दै आएका अन्सारीले सो क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रूपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएको परिवारले जनाएको छ ।
क्याफे सञ्चालक खतिवडाले भने क्याफेमा लडेर गम्भीर घाइते भएको र उनलाई त्यहाँ कार्यरत कर्मचारीले विराट अस्पताल पु¥याएको बताउँदै उपचारकै क्रममा अन्सारीको मृत्यु भएको बताएका छन् । तर, मृतकका आफन्तले क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले हत्या गरेको किटानी जाहेरीमा उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले खतिवडासहित तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको बताएका छन् । उनले घटनाको परिस्थिति र पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको बताउँदै भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । पोष्टमार्टमा पछिमात्र थाहा हुन्छ ।’











