काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नयाँ विमानस्थल थप्नुभन्दा भएका विमानस्थललाई सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बिभिन्न मन्त्रालयमाथिको विनियोजित बजेटको शीर्षकमा भाग लिँदै भट्टराईले ५५ विमानस्थलमध्ये केही सञ्चालनमा नरहेको भन्दै नयाँ थप्ने भन्दा पनि सञ्चालनमा नरहेका विमानस्थललाई सञ्चालन गर्न ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थप्न खोजिएको भन्दै आवश्यकता र औचित्यका आधारमा मात्रै नयाँ विमानस्थलका बारेमा निर्णय लिन सुझाव दिए । त्यस्तै, उनले भएका आन्तरिक बिमानस्थलको स्तरोन्नतीमा ध्यान दिन आग्रह गरे ।
त्यस्तै, सांसद प्रभु साहले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठमन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी कुनै बजेट र कार्यक्रम नल्याएको बताए । उन्नत संस्कृति भएका स्थानहरुलाई सरकारले बजेटमा उपेक्षा गरेको उनको भनाइ छ ।
यस्तै, सांसद सांसद डा अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम अघि नबढाउन सुझाव दिए । अहिले काठमाडौं बाहिर दुई वटा नयाँ अन्तराष्ट्रिय बिमानस्थल बनेपनि पूर्ण रुपमा सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नरहेको उनले जिकिर गरे ।
त्यसअघि बजेटमाथिको छलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदहरुलाई उपलब्ध नगराइएको भन्दै एमालेले विरोध गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक स्थगित गरिएको थियो ।
शुक्रबार नै बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट उपराष्ट्रपति कार्यालयको शीर्षक हटाएपछि बैठक सूचारु भएको थियो ।











