काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सत्ता गठबन्धन परिवर्तन हुने कुरा आधार नभएको बहसमात्रै भएको बताए । उनले अहिले कांग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल बिकास नभएको दावी गरे । सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरे ।
त्यस्तै, उनले समाजवादी मोर्चा एकाएक नभई धेरै अघिदेखि नै बहसमा रहेको भन्दै कांग्रेसका लागि समाजवादी मोर्चा सरप्राइज बिषय नभएको जिकिर गरे ।
यता, नेकपा एमालेका सचेतक महेश वर्तौलाले पछिल्लो घटनाक्रममा आधारमा वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको दावी गरे । सरकारको नेतृत्व गरिररहेको पार्टीले मोर्चाका नाममा अर्को गुट बनाउने कामले जनतामा असर पर्ने उनको भनाइ छ ।
उनले निर्वाचनमा जनताले दिएको म्याण्डेडका आधारमा सत्ता समिकरण बनाउन ठूला दलहरुले समझदारी गरे दिगो सरकार बन्न सक्ने धारणा राखे । वर्तौलाले कांग्रेससँग छलफल गरेर तत्काल सरकार परिवर्तन गर्ने योजनामा एमाले नरहेपछि घटनाक्रम हेर्दा वर्तमान सरकार लामो समय टिक्ने संकेत नदेखिएको बताए ।











