Logo
Logo

प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे


6.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।
सांसद पाण्डेले ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’का लागि एकजना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको बताए ।

उनले प्रधानमन्त्रीसँग प्रश्न गरे, ‘मन्त्रालयहरू तपाईँको नेतृत्वमा चलिरहेका छन् कि छैनन् ?’ उनले प्रधानमन्त्री प्रचण्डले आफूमा शक्ति केन्द्रित हुनेगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तरगत निकायलाई कायमै राखेकोमा समेत आपत्ति जनाए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा मन्त्रालयहरू चलिरहेका छन् वा छैनन् ? यो कुरा म सोध्न चाहन्छु । म देखिराखेको छु–मेरो अगाडि यो पुस्तक छ । यो पुस्तकमा तराई मधेस समृद्धि कार्यक्रम भन्ने उल्लेख गरिएको यो संघीय मामिला मन्त्रालयसँग सम्बन्धित पुस्तक हो’ उनले भने ।

‘६९ करोड ६५ लाख त्यो पैसा छ २५ जिल्लाको लागि । तर, एउटा निर्वाचन क्षेत्रको लागि ४० प्रतिशत खन्याइएको छ एउटा मन्त्रीले । यही हो सन्तुलित बजेट ? यसलाई सन्तुलित भन्न मिल्छ ? त्यसो हुनाले हरेक मन्त्रीले आफ्नो मन्त्रालयभित्र चाहिँ भएभरको रकम सकेजतिको रकम आफ्नै मन्त्रालयमा, आफ्नै निर्वाचन क्षेत्रमा खन्याउने यो जो परिपाटी छ । यो परिपाटीलाई अन्त्य गर्नुपर्छ । र, विशेष गरी मैले देखिराखेको छु–सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ’ उपाध्यक्ष पाण्डेले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एकजना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ । यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनु पथ्र्यो कि पर्दैन थियो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय ।’

प्रतिक्रिया दिनुहोस्