काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीलाई आमन्त्रण गर्नेगरी काम गर्न नीति क्षेत्रलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल उद्योग परिसंघको २०औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रलाई पनि वैदेशिक लगानी आमन्त्रण गरी ल्याउने दिशामा काम गर्न अनुरोध गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले कतिपय निजी क्षेत्रमा समेत वैदेशिक लगानीको लागि अवरोध सिर्जना भएको गुनासो सुनिएको भन्दै सरकार निरन्तर औद्योगिक पूर्वाधार विस्तारमा लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले विशेष आर्थिक क्षेत्रलगायत औद्योगिक पूर्वाधार निर्माणमा सकरात्मक उपलब्धि हासिल हुँदै गएको पनि बताए । उनले भने, ‘एकपछि अर्को सुधारको काम अघि बढाइएको छ । निजी क्षेत्रलाई पनि वैदेशिक लगानी आमन्त्रण गरी ल्याउने गरी काम गर्न अनुरोध गर्दछु ।’
उनले पुँजीगत खर्चको सामार्थ्य बढाउन सरकार केन्द्रित रहेको बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको संरचनागत सुधारमा सरकार केन्द्रित रहेकाे उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले अहिले विदेशबाट सामान ल्याउने र कतिपय उद्योगले जनशक्ति पनि विदेशबाटै लिएर यहाँ उत्पादन बढाउने गरेको भन्दै नेपाली कच्चा पदार्थमा आधारित उद्योग विकास सरकारले चाहेको बताए ।














