
पाल्पा । कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ ।
विश्वको एक मात्र शालिकराम पाइने कालि गण्डकीको आफ्नै महत्व रहेको छ । कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले नगरपालिकाभित्र पर्ने नदी किनारै किनार पैदलमार्ग बनाउने योजना ल्याइएको छ ।
पैदलमार्गका लागि सङ्घीय समपूरक कोषबाट ६० लाख, रामपुर नगरपालिकाबाट ६० लाख गरी एक करोड २० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताए ।
कालीगण्डकी नदीलाई संरक्षण गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने विज्ञको भनाइ छ । ‘कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसँग जोडियो भने आयआर्जन पनि हुने,’ नगरप्रमुख थापाले भने ।
नगर प्रमुख थापाका अनुसार रामपुर नगरपालिका–१ को स्याउली बजारदेखि वडा नं १० को सिद्धबाबा मन्दिरसम्म नदीको किनारै किनार पैदलमार्ग बन्ने अबको एक वर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना छ । नदीको पर्यावरणीय अस्तित्वलाई जोगाइराख्न पनि पर्यटन विकाससँग जोडेर योजना अगाडि सारिएको नगरपालिकाले जनाएको छ ।
पैदलमार्गमा साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताए । ‘पैदलमार्ग निर्माणले कालीगण्डकीको संरक्षण हुनुका साथै स्थानीयको आयआर्जनको माध्यम बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक सभ्यता बोकेको नदी हो । मुक्तिनाथदेखि देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् ।











