काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया भनेको समयमा जान नपाएपछि नेपाली युवाहरु आन्दोलित भएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा सयौँ युवाले धर्ना तथा नारा जुलुस गरेका हुन् ।

ईपीएस कोरिया भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरुले रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने मागसहित नारा जुलुससहित आन्दोलन गरेका हुन् ।
उनीहरुमध्ये एक पटक कोरिया पुगेर फर्किएका र पुनः भाषा परीक्षा दिएर सूचीमा रहेकाहरु छन् । दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएकाभन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजाइमा नपरेका हुन् ।
नेपाली श्रमिकको संख्या बढिरहेका बेला यसरी गएर फर्किएका र भाषा परीक्षा दिएर सूचीमा रहेका भने ५ प्रतिशत पनि जान पाएका छैनन् । आफ्नो रोजगारी सुनिश्चितताको माग गर्दै ईपीएसको कार्यालय घेरेका उनीहरुले आफूहरुलाई विभेद गरिएको गुनासो गरेका छन् ।
ईपीएस शाखा प्रमुख पुष्पराज कट्वालका अनुसार करिब ६–७ सयको संख्यामा उपस्थित भएर उनीहरुले नाराजुलुस गरेका थिए ।











