काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि भ्रष्टाचारीले उन्मुक्ति नपाउने बताएका छन् । उनले यति, ओम्नी, सुरक्षण मुद्रणलगायतका प्रकरणमा भ्रष्टाचार एवं अनियमितता देखिए कसैलाई छ्ट नहुने बताएका हुन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले तथ्य, प्रमाण र अनुसन्धानले देखाए कारबाहीको दायरामा ल्याउने बताए ।

कांग्रेस सांसद रामहरि खतिवडाले ‘नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै यति ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी धेरै काण्डहरू छन्, त्यो बारेमा गृहमन्त्रालयको ध्यान कता गएको छ कि छैन ?’ भनेर प्रश्न गरेका थिए । सांसद खतिवडाको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘अरू प्रकरणबारे पनि छानबिन हुन्छ कि हुँदैन भन्ने छ, तथ्य प्रमाण, अनुसन्धानले देखाएअनुसार अनियमितता छ, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन ।’
नेपाल ट्रस्टको अधिनमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट यति समूहलाई भाडामा लगाउँदा अनियमितता भएको आशंका गरिएको थियो । त्यस्तै, सुरक्षण मुद्रण छपाइको उपकरण खरिदमा ७० करोड मोलमोलाइ गरिएको अडियो बाहिरिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।
यस्तै, कोभिड महामारीका बेला प्रक्रिया मिचेर औषधि, उपकरण खरिद् गर्ने जिम्मा ओम्नी समूहलाई दिइएको थियो । औषधी तथा उपकरण खरिदमा पनि अनियमितताको आशंका गरिएको थियो ।











