काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको अनुगमन तथा नापतौल गरेकाे छ । आइतबार पशुपतिनाथ मन्दिर खाली गराएर सुरक्षा घेरीबीच अख्तियारको टोलीले जलहरीको अनुगन तथा नामतौल गरिहरेको छ । अख्तियारको टोली पशुपतिनाथ पुग्न अघि पूजाआजा गर्न आएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका गराइएको छ ।

आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि संलग्न छन् । जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको हो । अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । सोक्रममा पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना समेत खटाइएको छ ।

सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।
जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।
महालेखा परीक्षकको कार्यालयले भने जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको जनाएको छ । हालै सार्वजनिक गरिएको महालेखाको प्रतिवेदनमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको आशंका गरिएको छ ।











