विराटनगर । नेकपा एमालेले पुनः कोशी प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दावी गरेको छ । सरकारबाट बाहिरिएको केही घण्टा नवित्दै एमालेले यस्तो दावी गरेको हो ।
शुक्रबार प्रदेशसभामा विश्वासको मत पाउन नसक्दा एमाले सरकारबाट बाहिरिएको हो । तर, त्यसलगत्तै एमालेले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउँदै संविधान अनुसार अब पनि सरकारको नेतृत्व आफैंले पाउनुपर्ने दावी गरेको छ ।

विश्वासको मत पाउन नसकेर पदमुक्त भएका मुख्यमन्त्री हिक्मत कार्कीले लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेका थिए । सोक्रममा प्रदेशसभाको ठूलो पार्टी भएकाले एमालेले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने कार्कीले बताएका थिए । कोशी प्रदेश सरकार ढलेसँगै मुलुकको दोस्रो ठूलो दल एमाले संघ र सातै प्रदेशमा प्रतिपक्षीमा धकेलिएको छ ।
मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो । तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन् । यसरी सत्ताबाट बाहिरिनुपरेको केही घन्टा नबित्दै एमालेले पुनः प्रदेश सरकारको नेतृत्व दाबी गरेको हो ।
एमाले नेताहरूले अब प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार बनाउन आह्वान हुनुपर्ने माग गरेको छ । मुख्यमन्त्रीबाट बाहिरिएका कार्कीले शुक्रबार प्रदेश प्रमुख खापु्ङसमक्ष अबको सरकार संविधानको धारा १६८ को उपधारा ३ अनुसार आह्वान हुनुपर्ने माग राखेका हुन् ।
कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि एमालेले नै कोशीमा एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । प्रमुख सचेतक भण्डारी र एमाले सांसद एवं कानुन व्यवसायीसमेत रहेका लिलाबल्लभ अधिकारीले पनि प्रदेश प्रमुखलाई भेटेर उपधारा ३ अनुसारको सरकार निर्माणको आह्वान गर्न आग्रह गरेका छन् ।
एमाले प्रमुख सचेतक भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार प्रदेशमा २४ पुसमै गठन भएको र अहिले उक्त सरकारले विश्वासको मत नपाएको भन्दै अब उपधारा ३ अनुसार सरकार बन्नुपर्ने आग्रह प्रदेश प्रमुखसमक्ष राखेको बताए । नेपालको संविधान अनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार बनाउने व्यवस्था छ ।
उपधारा २ मा दुई वा दुईभन्दा बढी दलले सरकार बनाउने व्यवस्था छ भने उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलले सरकार बनाउने विषय उल्लेख छ । सोही अनुसार एमालेले दुई वा दुईभन्दा बढी दलले सरकार बनाइसकेका कारण अब संविधानको अर्को धारा आकर्षित हुने दाबी गरेको हो ।
कोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले मुख्यमन्त्री दाबी गरिरहेका छन् । तर, गठबन्धन दलको जसले अवसर पाए पनि स्वीकार गरेर जाने उनीहरूको भनाइ छ । एमाले नेतृत्वको सरकार ढलेसँगै कांग्रेस २९, माओवादी १३ (सभामुखसहित) एकीकृत समाजवादी ४ र जसपाको १ सिटसहित गठबन्धनले नयाँ सरकार बनाउन प्रक्रिया थालेका छन् ।











