Logo
Logo

कुकुर तिहारमा नेपाली सेनाको विशेष ‘डग शो’ (तस्वीरहरू)


0
Shares

काठमाडौं । नेपाली सेनाले विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेर कुकुर तिहार मनाएको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आईतवार आयोजित कार्यक्रममा कुकुरको पूजा गरि उनीहरुको कला कौशल समेत प्रस्तुत गरिएको हो ।

प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए । सिमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताए ।

उनले कुकुर सेनाको महत्वपूर्ण सहयोगी शक्ति रहेको बताए । कुकुरको प्रयोगले सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढाउने गरेको उनको भनाई छ । कुकुरहरूलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा उल्लेख गर्दै उनले गस्ती, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा कुकुरको भूमिका उल्लेखनीय रहेको बताए । युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग पु¥याउने उनको भनाई छ ।

उनले भने, ‘डग प्रदर्शनी, डगहरूको क्षमता र विशेषता आफैँमा उत्कृष्ट प्रस्तुति हो । कच्चा कुकुरहरूलाई विशेष प्रकारको तालिम प्राप्त गराइ यस्तो किसिमको प्रदर्शनी गर्नु गराउनु वास्तवमा चुनौतीपूर्ण पनि छ । कठिन पनि छ । अहिले हामी देख्छौँ, फोर्स मल्टिप्लायरको रूपमा देश विदेशमा पनि कुकुरहरूको भूमिका उल्लेखनीय रूपमा रहेको छ । खासगरी पेट्रोल र सेक्युरिटी जहाँ धेरै मानिसहरूको तैनाथी हुनुपर्ने अवस्था हुन्छ । एउटा डगले पनि त्यो सम्पन्न गर्न सक्छ । त्यस्तै ट्रयाकिङ र सर्चको कार्यक्रम, अट्याक र पक्राउ गर्ने कार्यक्रम त्यस्तै साइकोलोजिकल इम्प्याक्ट पनि दिन्छ, यसले । दुश्मनहरूलाई मानसिक दबाब सिर्जना गर्ने कार्यमा पनि कुकुरको भूमिका उल्लेखनीय रहेको छ । त्यस्तै एउटा हौसला अभिवृद्धि गर्ने उपाय पनि डग हो । लडाइँमा जाने फौजहरूको जङ्गल डिउटीमा गएको फौजहरूको अगाडि डग भयो भने काम गर्ने हौसला आफैँ वृद्धि हुन्छ । यो हामीले महसुस गरेको कुरा हो । त्यसैले भनिन्छ, हामी मानव प्रजाति भन्दा कुकुरको स्मेल गर्ने क्षमता १० हजारदेखि एक लाख गुणा बढी हुन्छ । यो स्मेल गर्ने क्षमताबाट डगले धेरै टाढा भएको शङ्कास्पद व्यक्ति, शङ्कास्पद आइइडिहरू को को पहिचान गर्न सजिलैसँग गर्न सक्छ । त्यसैले हामीले डगलाई ट्रेन्ड गर्ने आवश्यकता महसुस गरेको हो ।’

नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतिकका रूपमा लिँदै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यतालाई संरक्षण गर्नुका साथै मानव र कुकुरबीचको मित्रता र सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले पनि कुकुर पूजा गरिँदै आएको सेनाले जनाएको छ । मध्यपुर थिमी नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरु, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000