Logo
Logo

बीआरआई सम्झौताबारे चीन सकारात्मक छ : गृहमन्त्री


1.5k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । पाँचदिने चीनको भ्रमण सकेर आइतबार स्वदेश फर्किएका उनले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले चीन भ्रमण फलदायी भएको बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा आफू र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो । नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास, व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन् ।’ उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको पनि जानकारी दिए ।

उनले चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए । नेपाल सरकारले बीआरआईमा २०७० मै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने उनले बताए ।

उनले भने, ‘बीआरआईको सन्दर्भमा नेपाल सरकारले २०७० मा सम्झौता ग¥यो । त्यसको कार्यान्वयनका लागि दुई पक्षबीचमा छलफल भइरहेको छ । अन्तिमरुप दिइसकेपछि बीआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुंगो लगाउने छौँ ।’

सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौं रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरू गर्न आग्रह गरेको पनि उनले बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ । छेन्दु काठमाडौंको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौं । उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्