काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको सार्वजनिक जग्गा भित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार महानगरले ललितानिवासको जग्गा अवलोकन गरेको थियो । त्यसपछि महानगरले त्यहाँ भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिएको हो ।

मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले आइतबार ललितानिवास भित्रका सबै अस्थायी संरचना हटाउन निर्देशन दिएको बताए । उनका अनुसार २४ घण्टाभित्र संरचना हटाउन भनिएको छ ।
आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली पुगेको थियो । सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । महानगर प्रहरीको टोलीले अहिले घेराबारको काम गरिरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको बेलामा महानगरले जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो ।














