
काठमाडौं । सुन तस्करीको आशंकामा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नता रहेको आशंकामा बुटवलस्थित अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो ।
यही असार १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो ।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । दुवै पसललाई आइतबार शिल गरी अनुसन्धान शुरु गरिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको र त्यही अनुसन्धानबाट सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल शिल गरिएको हो ।














