Logo
Logo
कोशी प्रदेश

सरकार बनाउने अंक गणितमा सभामुखलाई सामेल नगर्न एमालेको दबाब


2k
Shares


विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गराएर बहुमत सावित गर्ने प्रयत्न गरिएको प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ ।

बिहीबार एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८६ मा उल्लेखित विषयबारे जानकारी दिएका हुन् ।

एमालेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अहिले कोशी प्रदेशसभाका माननीय सभामुख बाबुराम गौतम कुनैपनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानून, संसदीय मूल्य, मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ ।’

साथै, कार्कीले दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पु¥याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेश गरेको छु ।’

सभामुख गौतमलाई समेत बोधार्थ दिएको पत्रमा २०७९ साल पुस २८ गते प्रदेशसभाको बैठकमा सभामुखले बालेको कुरालाई स्मरण गराएको छ । त्यसबेला सभामुखले भनेका थिए, ‘मैले निष्पक्षताको पदमा आशिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु ।’

सोही कुरालाई स्मरण गर्दै सभामुखले माओवादी केन्द्रको सदस्यता परित्याग गरिसकेको कुरा विवादरहित रहेको एमालेले उल्लेख गरेको छ ।

यसैबीच गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले आजै साढे ४ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेश गर्न तयारी गरेको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयलाई घर्किन अघि गठबन्धनका तर्फबाट कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्