Logo
Logo

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त


3.9k
Shares

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए । उनले भने, ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ ।’ राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्ने उनले बताए ।

तर, एमाले र राप्रपाका सांसदहरुले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने बताउँदै आएका छन् । एमालेका प्रदेश सांसद तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सरकार गठनका दावी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग भएको दावी गरे ।

‘कुनै एउटा राजनीतिक दलको सदस्य भएका व्यक्तिले कसरी तटस्थ भएर प्रदेशसभाको बैठक सञ्चालन गर्न सक्छ ?,’ उनले भने, ‘सरकार गठनका लागि दावी पेस गर्न सभामुखलाई गन्ती गरिएको विषय अब सर्वोच्च अदालतबाटै टुंगिने स्थिति निर्माण भयो ।’

प्रतिक्रिया दिनुहोस्