विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी बिहीबार कोशीको पाँचौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । साथै, नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री बन्ने उनी पहिलो नेता हुन् ।

समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका हुन्। सत्ता गठबन्धनले मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय गरेपछि कांग्रेसले राप्रपासमेतको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दाबी गर्न जाने पहल गरेको थियो । तर, राप्रपाले नमानेपछि चार दलीय गठबन्धनले दावी पेश गरेको हो ।
यही अवस्थाका बीच पनि मुख्यमन्त्री थापा र उनको दल कांग्रेसले विश्वासको मत लिने बेलासम्ममा राप्रपाले पनि सघाउनेमा विश्वस्त देखिन्छन् । अबको ३० दिनभित्र राप्रपाको समर्थन लिन मुख्यमन्त्री थापाले विगतको चुनावी असफलता बिर्साउने गरी प्रयत्न गर्नुपर्नेछ ।
साथै, नवनियुक्त मुख्यमन्त्रीलाई अर्को चुनौती पनि छ । यतिखेर कोशी प्रदेश नामांकनको विरोधमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । प्रदेश १ पुनः नामांकन संघर्ष समितिले कोशी नाम खारेजीको माग गर्दै बहुपहिचानको आधारमा प्रदेशको नामांकन हुनुपर्ने माग गर्दै आएका छन् । त्यसैले मुख्यमन्त्री थापालाई पहिचान पक्षधरको मागलाई कसरी लिन्छन् भन्ने हो । त्यसबाहके प्रदेशसभाबाट विश्वासको मत पाउनलाई उनलाई चुनौती छ ।
राजनीतिक यात्रा
विसं २०३२ ताका काठमाडौँको शंकरदेव क्याम्पसबाट नेपाल विद्यार्थी संघको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भए ।
विसं २०३६ को जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा रहेका थिए । अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हाले । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाए । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहेपनि जितको परिणाम भने हात पर्न सकेन ।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि हुन् ।
पाँच ‘व’को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपदमा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए ।
साथमा नेपाली कांगे्रसको सिद्धान्त, नीति, विचार, कार्यक्रम, इतिहास र विधानका विषयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रम चलाइए । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रजातन्त्र अपहरण गर्ने राजाको कार्यको कडारूपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बंकरमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।
वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि बनाएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका छन् ।
प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा संघर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गरेका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएका छन् ।
नेपाली कांग्रेसभित्र सबै जाति, भाषाभाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्ने थापा नेविसंघ एकाइ हुँदै कांग्रेस पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीका रूपमा चर्चित छन् ।
कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत भएका थिए ।











