Logo
Logo

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अघि बढ्ने


6.2k
Shares

काठमाडौं । मिटरब्याजपीडितलाई न्याय दिन कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्मा अघि बढ्ने भएको छ । उक्त विधेयक बुधबार नै संसद बैठकमा छलफल गरि पारित गर्ने तयारी थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरोध गरेपछि उक्त विधेयक निष्क्रिय भएको छ ।

सरकारले अध्यादेश ल्याएर मिटरब्याजपीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गरेको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट संसद्मा दर्ता भएको ६० दिनभित्र पारित नहुँदा निष्क्रिय बनेको हो ।

राष्ट्रियसभाबाट पारित भएर आएको अध्यादेश प्रतिस्थापन विधेयक ‘मलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’ बुधबार प्रतिनिधिसभाबाट पारित गर्ने प्रयास भएको थियो ।

बुधबार नै पास गरी प्रमाणीकरणका लागि राष्ट्रिय सभामा पठाएर त्यहाँ सन्देश सुनाई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालगायतले संसद् अवरोध गरेका थिए । बैठक अवरोधका कारण कारबाही अघि बढ्न नसकेपछि विधेयक पास हुन सकेन ।

निष्क्रिय बनेको उक्त विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा अगाडि बढाउने सम्भावित कार्यसूचीमा राखिएको छ । ‘मलुकी संहितासम्बन्धी केही नपोल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’लाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्ने, दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखा प्रमुख तथा प्रवक्ता एकराम गिरीले विधेयक विचाराधीन रहेकाले सम्भावित कार्यसूचीमा राखिएको जानकारी दिए । यदि शुक्रबार एमालेले संसद अवरोध नगरेमा उक्त विधेयक पारित गर्ने तयारी गरिएको छ ।

अध्यादेशले गरेको कानुनी व्यवस्था निष्क्रिय भएको तर विधेयक भने विचाराधीन रहेको उनको भनाइ छ । विधेयक निष्क्रिय कतिबेला हुन्छन् भन्ने संविधानमा स्पष्ट छ । उनका अनुसार प्रचलित कानुन र संविधानमा प्रतिस्थापन विधेयक के हुन्छन् भन्ने कतै लेखेको छैन र विधेयक निष्क्रिय हुने व्यवस्था अलग्गै रहेको छ । उनले विधेयक प्रक्रियामै रहेको र शून्यतामा नगएकाले त्यसमाथि संसद्ले निर्णय गर्न सक्ने उनले बताए ।

प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ मा दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्