
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आग्रह गरेको छ ।
महानगरको शिक्षा विभागले आज सार्वजनिक सूचना जारी गर्दै एसइई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको हो ।
विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको गुनासो आएको र यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिन वञ्चित भएकोतर्फ ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।
यस्तै, शिक्षा विभागले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ । २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या असार मसान्तभित्र पठाउन सूचित गरेको छ ।











