Logo
Logo

मानव-वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा २ सय जनाको मृत्यु


756
Shares

काठमाडौं । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ। तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनी मानिसको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने प्रश्न उठ्ने गरेको छ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडेर गाउँ बस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि रहने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा एक सय ९७ मानिसको मृत्यु भएको तथ्याङ्क छ। यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले ६० करोड १२ लाख ७४ हजार ५१४ रुपैयाँ क्षतिपूर्ति व्यहोरेको छ।

साथै वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घटना बढ्दै गएका छन्। मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ।

आर्थिक वर्ष २०७९र८० जेठसम्म वन्यजन्तुबाट ३६ जनाको मृत्यु भएको छ भने वन्यजन्तुबाट भएको क्षतिका लागि रु १० करोड ८७ लाख १८ हजार ४२९ रकम राहत वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो अवधिमा सबैभन्दा बढी हात्तीबाट १४, बाघबाट १२, गैँडाबाट चार, चितुवाबाट तीन, जङ्गली बँदेलबाट दुई र भालुबाट १३६ जनाको मृत्यु भएको छ। वन्यजन्तुबाट सामान्य घाइते ४६ जना, सख्त घाइते ९७ जना, पशुधनको क्षति तीन हजार ९१२, भण्डारण गरेको अन्नको क्षति २५६, घर गोठको क्षति ३८५ र अन्नबालीको क्षति तीन हजार ७४ घटना भएको विभागको तथ्याङ्क छ।

यसैगरी आव २०७८र०७९ मा मुलुकभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ५८, सामान्य घाइते संख्या ७२ र सख्त घाइते हुनेको संख्या ११६ छ भने वन्यजन्तुबाट भएको क्षतिको कूल १२ हजार ६७२ वटा घटना दर्ता भएका छन्। यस अवधिमा सबैभन्दा बढी हात्तीबाट २३ जनाको मृत्यु भएको छ। त्यसपछि बाघबाट २१, गैँडाबाट पाँच, चितुवा र जङ्गली बँदेलबाट तीन तीन र गौरी गाईबाट एक जनाको मृत्यु भएको थियो। साथै वन्यजन्तुबाट भएको क्षतिबापत कुल १५ करोड ५८ लाख दुई हजार ४६८ रुपैयाँ बराबरको राहत रकम वितरण गरिएको छ। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन, २०७५० बमोजिम राहत उपलब्ध गराउने व्यवस्था छ।

विभागका निमित्त महानिर्देशक अजय कार्कीले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र यसबाट मृत्यु हुनेको संख्या तथा राहत क्षतिपूर्ति पनि बढेको बताए। वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय क्षतिपूर्ति दिनुपर्ने वन्यजन्तुको सूचीमा नीलगाई र बाँदर पनि थप गरेको बताउँदै उहाँले यसले क्षतिपूर्ति रकममा ठूलो मात्रामा वृद्धि हुने बताए। मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुने अन्तिम चरणमा छ।

यसका साथै मन्त्रालयले वन्यजन्तुको आक्रमणबाट अपाङ्ग भएका व्यक्तिलाई, अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र मृत्यु व्यक्तिलाई दिनुपर्ने क्षतिपूर्ति थप गरेकाले र गाई भैँसीको मृत्युमा दिने रकम दोब्बर गरेका कारण पनि राहत रकम बढ्ने देखिन्छ।

विभागले उपलब्ध स्रोत साधन र बजेटमा आधारित भएर रोकथाम काम गरिरहेको निमित्त महानिर्देशक कार्कीले बताए। वन्यजन्तुलाई आफ्नो वासस्थानमा नै बस्न सक्ने गरी र जङ्गलमा आश्रित मानव समुदायलाई जीवनयापनको विकल्प दिने गरी विभिन्न कार्यक्रम गरिरहेको उनले बताए। मुख्यरूपमा मानवले नै आनिबानी परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

आव २०७७र०७८ मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ४०, सामान्य घाइते संख्या ९८ र सख्त घाइते हुनेको संख्या ६७ छ भने वन्यजन्तुबाट भएको क्षतिका कूल आठ हजार ४५५ वटा घटना दर्ता भएको छ। यस अवधिमा सबैभन्दा बढी हात्ती र बाघबाट १३र१३ जना, त्यसपछि गैँडाबाट छ जना, भालु र चितुवाबाट तीन तीन, जङ्गली बँदेल र गौरी गाईबाट एकरएक जनाको मृत्यु भएको तथ्याङ्क छ। यस अवधिमा राहतबापत रु १४ करोड नौ लाख ९३ हजार ५५६ रकम वितरण गरिएको छ।

त्यस्तै मुलुकभर आव २०७६र७७ मा वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ३३, सामान्य घाइते संख्या ६७ र सख्त घाइते हुनेको संख्या ११० जना छ। यस अवधिमा सबैभन्दा बढी १३ जना हात्तीबाट, त्यसपछि बाघ र चितुवाबाट आठरआठ र गैँडाबाट चार जनाको मृत्यु भएको थियो। वन्यजन्तुबाट भएको क्षतिका लागि राहतबापत १० करोड ६६ लाख ७५ हजार ९७१ रकम वितरण गरिएको छ।

आव २०७५र७६ मा वन्यजन्तुबाट ३० जनाको मृत्यु भएको र १३७ जना घाइते भएको तथ्याङ्क छ। यो अवधिमा सबैभन्दा बढी हात्तीबाट १५ जना, चितुवाबाट छ जना, बाघबाट चार जना, गैँडाबाट दुई जना तथा जङ्गली कुकर, जङ्गली बँदेल र मगर गोहीबाट एकरएक जनाको मृत्यु भएको थियो। साथै वन्यजन्तुबाट भएको क्षतिका लागि आठ करोड ९० लाख ८४ हजार ९० रुपैयाँ राहत वितरण गरिएको थियो।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा। घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए। साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर ननिस्कने बताउँदै स्थानीयवासीको भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र अप्ठेरोमा परेका वन्यजन्तुको उद्धार गर्नुपर्नेलगायत सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्