Logo
Logo

आरजुलाई रकम बुझाएको भनिएको अडियोकाे स्वर सन्देश शर्मासँग मिल्यो


24.6k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्ने सम्बन्धी अडियो परीक्षण गर्दा उक्त अडियो प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मेल खाएको छ । सार्वजनिक उक्त अडियोमा शर्माले राणालाई पैसा बुझाएको भनेका छन् ।

अडियो बाहिर सार्वजनिक भएपछि कांग्रेस नेतृ राणाले ‘नक्कली अडियो’ भएको भन्दै त्यसबारे जाँच गर्न गत वैशाख २७ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको हो । प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ‘स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी उल्लेख भएको जुन स्वर (भ्वाइस) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’सँग मेल खाएको छ ।’

त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कहाँ र कसबाट ‘ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा ‘टिकटक’ सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको । निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकाले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।’

कांगेस सांसद समेत रहेकी आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेकी थिइन् । उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै साइबर ब्युरो भोटाहिटीमा निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्