
काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरु आज( सोमकार पनि छलफलमा जुट्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउन प्रधानमन्त्री प्रभण नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको हो ।
उनीहरुबीच सोमबार दिउँसो १ बजे सिंहदबारमा छलफल गर्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो । तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएपनि केही समयपछि एमालेले पछि संसद खोल्न सहमति नरहेको बताएका थिए ।
उनले आइतबारको बैठकबाट बाहिरिए लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा दिनुपर्ने र गृहमन्त्रीले बोलेको अभिव्यक्ति फिर्ता हुनेपर्ने सर्त तेर्साउँदै सहमति तोडेका थिए ।
असार १८ गते प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
एमालेले अवरोध गर्ने भएपछि आइतबार दुइपटक प्रतिनिधिसभाको बैठकका लागि तय भएको समय सरेको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने भन्दै सारिएको थियो । तीन बजेपनि बैठक बस्न नसकेपछि सुचना टास गर्दै बैठक सथगित गरिएको थियो । प्रतिनिधिसभा बैठक आज (सोमबार) दिउँसो ३ बजे बोलाइएको छ ।










