काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताए । उनले उच्च ओहोदाका व्यक्ति उपचारविज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने समेत बताए । उनले विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचर गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भर्ना राखे ।
उनले पैसा हुनेले बाहिर गएर उपचार गर्ने, नहुनेले नगर्ने खाडल पनि पुरिन आवश्यक रहेको बताए । ‘यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरु धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायाँमा पर्नु भएको छ’, उनले भने, ‘राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउने छौँ ।’
उनले कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवा सहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ÷सकिँदैन भन्ने निक्र्यौल गर्नेसमेत बताए ।
‘चिकित्सकको समूहले के रोग हो भन्ने थाहा पाइसकेपछि रोगको उपचार यही हुन्छ भने स्वदेश गर्ने व्यवस्था गरिनेछ’, उनले भने, ‘जनुसुकै नेता तथा उच्च ओहोदाका व्यक्ति बिरामी पर्नुभयो भने हामी पनि सम्पर्कमा गर्छौँ ।’










