
इलाम,१२ पुस । इलामबाट सिधै ताप्लेजुङ उडान हुने भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान सुुरु गरिने भएको हो ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान सुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान सुरु गरिने बताइएको छ । पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लेजुङको पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने उद्देश्यले उडान शुरु गरिएको सिम्रिक कम्पनीले जनाएको छ ।
सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडासहित धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका प्रमुख कार्यकारी अधिकृत योगेश सापकोटाले जानकारी दिए ।
इलाम पर्यटकीय क्षेत्र भएकाले यहाँबाट पहाडी जिल्लासहित भारतका पर्यटक लक्षित गरेर उडान सुरु गरिएको सापकोटाको भनाइ थियो । पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए ।
सिम्रिकले इलामबाट रु २८ हजार ९९९ मा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट रु २९ हजार ९९९ मा र सुकेटारबाट रु छ हजार ९९९ मा भ्रमण गराउने बताइएको छ । गाडीमा यात्रा गर्न असहज हुने दर्शनार्थीका लागि यो नौलो अवसर भएकाले पनि प्रचार गर्न आवश्यक रहेको पर्यटनकर्मीले बताउँदै आएका छन् । यसले पर्यटन वर्षलाई सफल बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।











