Logo
Logo

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति


0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन् । तिहार पर्व २०८३ का अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका छन् ।

नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा तिहार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथिको प्रकाशको विजय जस्ता सन्देश प्रवाह गरेको जनाएका छन् ।

तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वतको सम्मान गर्ने तथा लक्ष्मी पूजामा भगवती लक्ष्मीको पूजा आराधना गरिने र भाइटीकामा दाजुभाई तथा दिदीबहिनीबिच आपसमा टीका लगाई हर्षोल्लासका साथ तिहार पर्व मनाइने राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

‘मानव र प्रकृतिबिच अन्योन्याश्रित सम्बन्धको स्वरूप गोबद्र्धन पर्वत, मानव र अन्य पशुपन्छी, जीवजनावर बिचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवता प्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्भाव दर्शाउन दियो बाल्ने, मिठा परिकार खाने तथा देउसी भैलो खेल्ने परम्परा रहेको छ’, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।

तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने राष्ट्रपतिको विश्वास छ । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000