Logo
Logo

हवाई यात्रुलाई फूलमालाले सम्मान


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

चन्द्रगढी, १६ पुस । भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने–आउने दुवै हवाई यात्रुलाई बुधबार सम्मान गरिएको छ । नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी र फूलमालाले सम्मान गरिएको हो ।
भद्रपुर नगरपालिका, विभिन्न सामाजिक संघसंस्था, सहकारी संस्था र नेपाल कम्यु्निष्ट पार्टी पर्यटन विभाग झापा समितिले संयुक्त रुपमा बुधबार पहिलो उडान श्री एयरलाइन्स र दोस्रो बुद्ध एयलाइन्सद्वारा काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै आएका यात्रुलाई सम्मान गरेको नेपाल नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले बताए ।
नगरपालिका र उड्डयन कार्यालयको संयुक्त पहलमा पूर्वी नेपालका पर्यटकीयस्थलबारे जानकारी दिन विमानस्थलमै डिजिटल डिस्प्ले बोर्डसमेत राखिएको छ । विमानस्थलबाट बाहिरिने यात्रुलाई पर्यटकीयस्थलका बारेमा जानकारीसहितको ब्रोसर बाँडिएको थियो ।
कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच तथा किराँत, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । दिनभर काँकडभिट्टामा जातीय पहिचान र कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्