Logo
Logo
सुन तस्करी प्रकरण

महरा र दुई छोरामाथि सीआइबीले अनुसन्धान थाल्यो, निर्मलमाथि केन्द्रित


8.6k
Shares

काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँसँग घनिष्ठ सम्बन्ध देखिएका माओवादीका नेता कृष्णबहादुर महरा र छोराहरू निर्मल र राहुलमाथि सीआइबीले विस्तृत अनुसन्धान अघि बढाएको छ । 

यसअघि प्रमाण नहुँदा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको थिएन । तर, चौतर्फी दबाब बढेपछि सीआइबीले अनुसन्धान सुरु गरेको हो । अनुसन्धानका क्रममा सीआइबीले राहुल भन्दा पनि निर्मलमा आशंका  बढाएको छ ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई महरा परिवारले सघाएको सीआइबीको अनुसन्धानबाट खुलेको छ । गत पुस १० मा ९ किलो सुन लुकाएको चिनियाँ नागरिकको विद्युतीय चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद गरेको थियो । 

त्यो चुरोट लिलामी गराएर सुन तस्करी गराउने चिनियाँको योजना थियो । तर, बिचमै सुन रहेको विद्युतीय चुरोट भन्सार कार्यालयभित्रै साटिएपछि योजना असफल भएको थियो ।

यसबिचमा सो चुरोट लिलामीका लागि राहुलले पटक पटक चिनियाँलाई सघाएको भनिएको छ । त्यो कुरा भन्सारकै कर्मचारीको बयानबाट प्रस्ट भइसकेको छ । साथै सुन तस्करी गर्ने चिनियाँसँग पटक–पटक उनीहरूबिच फोन सम्पर्क हुनुले पनि यसमा महरा परिवारमाथि शंका गर्ने प्रशस्त आधार छन् । तर, सीआइबीले सोधपुछ नै नगरेपछि आलोचना भइरहेको छ ।

सीआइबीका अधिकारी भने सुन तस्करीमा प्रस्ट प्रमाण फेला नपरेकाले मात्र उनीहरू जोगिएको बताउँछन् । ‘विद्युतीय चुरोटभित्र सुन छ भन्ने थाहा भएरै उनीहरूले सघाए कि सुन थियो भन्ने जानकारी नभएर सघाए भन्ने खुल्न सकेको छैन,’ ती अधिकारी भन्छन्, ‘अन्य व्यक्ति पक्राउ गरेर यो कुरा खुलाएपछि महरा परिवारमाथि अनुसन्धान गर्छौं ।’

यो तस्करीमा मुुख्यगरी दुई समूह छन् । चुरोटभित्र लुकाएर सुन ल्याउने र त्यसलाई चोरेर बिक्री गर्ने । सुन चोरी गरी बिक्री गर्ने भन्सारका कर्मचारी रेवन्त खड्कासहितका व्यक्तिलाई पक्राउ गरी ब्युरोले मुद्दा चलाइसकेको छ ।

तर, सुन तस्करी गर्ने गिरोहको कोही पनि पक्राउ परेका छैनन् । त्यसमा चिनियाँसँगै लोकेन्द्र पौडेल, श्याम शाहलगायत व्यक्तिहरूसमेत फरार छन् । तस्करीमा संलग्न चिनियाँहरू त्यति बेला नै भागिसकेकाले अनुसन्धान प्रभावित बनेको हो । घटनाको सूचना नै ढिला आउँदा सुन पनि बरामद हुन सकेको छैन भने तस्करी गर्नेहरू पनि भाग्न सफल भए ।

निर्मला मुख्य गिरोह रहेको आशंका

सुन जडित भेप काण्डमा महराका छोरा राहुल महराको नाम आएता पनि अर्का छोरा निर्मल महरा यस प्रकरणका मुख्य नाइके रहेको स्रोतले बताएको छ ।

जडीबुटीदेखि सुनसम्मको तस्करीमा निर्मलको संलग्नता रहेको बुझिएको छ । चिनियाँ गिरोहसँग लामो समयदेखि संगतमा रहेका निर्मलले नै भाइ राहुललाई भेपमा ल्याइएको सुन बुझ्न खटाएको स्रोतले बताएको छ ।

सुन तस्करीमा निर्मलको संलग्नताबारे सीआइबीले प्रमाण जुटाइरहेको छ । सीआइबी स्रोतले भन्यो– ‘सुरुमा बुबा र छोरा राहुलको विषय मात्र जोडिएको थियो । खोज्दै जाँदा अर्को छोरा निर्मलको संलग्नता झनै धेरै देखियो । उनले लामो समयदेखि सुन तस्करसँग सम्बन्ध राख्दै  आएको खुलेको छ ।’

राहुल सीआइबीमा हाजिर

यस बिचमा सुन तस्करीमा नाम जोडिएपछि राहुल आफै आफ्नोबारे जानकारी लिन र गराउन सीआइबीमा पुगेका थिए ।

सीआइबीसँगको छलफलपछि राहुलले भने राहत महसुस गरेको बुझिएको छ । सीआइबीले राहुललाई हालसम्म तपाईँको प्रत्यक्ष संलग्नता नदेखिएको प्रतिक्रिया दिएपछि राहुल ढुक्क भएका हुन् । 

सीआइबीले राहुललाई ‘तपाईँको प्रत्यक्ष संलग्नता भेटिएको छैन’ भने पनि अनुसन्धान जारी रहेकाले यसै भन्न सकिने अवस्था भने नरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्