Logo
Logo

एमालेलाई विश्वप्रकाशको प्रश्न- सदन कति दिनलाई खोलेको हो ?


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुन प्रकरण मात्रै नभएर फाइल पल्टाएर धेरै विषय हेर्न बाँकी रहेको उनले बताए ।

उनले भने, ‘गृहमन्त्रीले यहाँ उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसद्को प्राङ्गणमा उभिएर भन्नुपर्छ । भनियो संसद् प्रतिपक्षको भनेर । प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ । प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’

उनले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकामा गुनासो गरे । लामो अवरोधपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै १० दिनसम्म ध्यानाकर्षण गर्ने थुप्रै विषयहरू संसद्मा उभिएर बोल्न नपाएको बताए ।

संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह समेत गरे । नियमापत्ति गरेर यो संसद् अब चल्दैन भनेर भन्दै गर्दा निश्चित धारामा टेकेर उभिनुपर्छ भन्ने शर्माले स्मरण गराए ।

शर्माले भने, ‘नियमापत्ति भन्ने आपत्ति भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह गर्न चाहन्छु । अहिले मैले बोल्दै गर्दा भूकम्प गयो भने भाग्नका लागि नियमको यो पुस्तक पल्टाइरहनुपर्दैन । जहाँबाट सजिलो हुन्छ त्यहीँबाट लाग्छौँ । यहाँ आपत्ति पर्‍यो । त्यस्तै आगलागी भयो भने सुरक्षित हुनका लागि हामीले धारा खोजिरहनुपर्दैन । त्यसैले आपत्ति र नियमापत्तिको बीचमा फरक हुनुपर्छ ।’

उनले यो जनताको आस्था भएको संसद् भएकाले यहाँ जति पनि निर्वाचित भएर आएका सांसदहरू छन्, प्रत्येकले प्रश्न गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्नुपर्ने जिकिर गरे । 

उनले देशको विभिन्न स्थानमा बाढी पहिरोले अस्तव्यस्त भएकाले सरकारले त्यस विषयमा आवश्यक कदम चाल्न ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्