Logo
Logo

एमालेलाई माओवादीको प्रश्न- सुन प्रकरणको अनुसन्धानलाई सहयोग गर्न केले छेक्यो ?


5.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले गरेको राम्रा काममा सहयोग गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारमा राम्रा कामलाई राम्रो भन्न सक्नुपर्ने बताए ।

पहिलादेखि नै सुन तस्करी भएको उल्लेख गर्दै अहिलेको सरकारले सुन समातेको विषयमा अनुसन्धान गर्नका लागि प्रतिपक्षी दलले सहयोग गर्नुपर्ने बताए । उनले सुन प्रकरणमा छानविनका लागि सहयोग गर्न केले छेक्यो ? भन्दै प्रश्न समेत गरे । 

उनले भने–  ‘धेरै पहिले सुडान घोटालाको प्रसङ्ग उठ्यो । कहिले वाइडबडी, एनसेल प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, ओम्नी जस्ता विषयहरू पहिला पनि उठ्ने गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा अहिलेको सरकारले खोजी गरेर विषयलाई धन्यवाद दिन नसक्ने ?  शरणार्थी प्रकरणमा छानबिनको प्रक्रियालाई निष्कर्षमा पुऱ्याउँदा गृहमन्त्रीलगायतलाई सम्मान गर्न सक्दनौं ? सुन प्रकरणमा पहिला पनि सरकार र गृहमन्त्री हुनुहुन्थ्यो । सुन आउने जाने भइरहेकै रहेछ तर यही सरकारले खोजेर यो प्रकरण रोक्ने कुरालाई सहयोग गर्न केले रोक्यो ?’

उनले कुनै कानुन नियमावलीमा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी दलको भनेर नलेखिएको र सबै दलका निर्वाचित जनप्रतिनिधिको साझा थलो भएको बताए । 

उनले भने–‘डाक्टरले बिरामी जाँच्न छोड्यो भने के होला ?  शिक्षकले पढाउन छोड्यो भने विद्यार्थीको हालत के होला ?  कर्मचारीले काम गर्न छोडे राज्यको हालत के होला ? अनि संसद् अवरुद्ध गरियो भने जनता समस्याहरू कहाँ गएर प्रकट गर्ने ? त्यसकारण प्रतिपक्षका साथीहरूलाई आग्रह गर्न चाहन्छौँ, तपाईँहरूले सदन रोक्नुभएकै हो, कृपया सदन नरोकेर आफ्ना भनाइहरू सदन राख्न अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्