
सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा स्थानीयले धर्ना दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई उडानमा गरेको कडाइको नयाँ नियम फिर्ता लिनुपर्ने माग गर्दै उनीहरू धर्नामा उत्रिएका हुन् ।
यसअघि क्यानले हिमाली तथा दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा दिउँसो १२ बजेपछिको उडानमा रोक लगाएको थियो । मनसुनको समयमा हवाई यात्रामा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो प्रतिबन्ध लगाएको क्यानले जनाएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको यातायातको एक मात्रै साधन हवाई जहाज हो । प्राधिकरणले उडानमा रोक लागएपछि हुम्लाका बासिन्दा मर्कामा परेका छन् । हुम्लामा एक महिनामा उपचार नपाएर ३ जना बालकले ज्यान गुमाएका छन् । जिल्लामा उपचार हुन नसकेपछि अन्यत्र लैजान जहाज कुर्दा कुर्दै उनीहरुले ज्यान गरमाएका हुन् ।














