
काठमाडौं । राजश्व अनुसन्धान विभागले ठूलो परिमाणमा तस्करीको सुन बरामद गरेसँगै सुन तस्करीमा शक्तिशाली नेता र नेता पुत्रको नेक्सस खुल्दै गएको छ । यस प्रकरणमा ठूलै नेता संलग्न रहेको आशङ्का गर्ने ठाउँ धेरै छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र माओवादी उपमहासचिव वर्षमान पुनसँग निकट सम्बन्ध राख्दै आएको खुलिसकेको छ ।
सम्बन्धकै आधारमा माओवादी नेता पनि सुन तस्करीमा संलग्न रहेको पुष्टि नहुने भएता पनि दावा लगायतका सुन तस्करले नेतासँग सम्बन्ध विस्तार गर्दै सुन तस्करी गरिरहेको स्पष्ट हुन्छ ।
पछिल्लो समय राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको सुनको तौल सुरुमा एक क्विन्टल भनिएको थियो । गाल्दा बरामद सुनको तौल ६० किलोभन्दा केही ग्राम बढी कायम भएको छ ।
सुरुमा विभाग आफैले उक्त प्रकरणको अनुसन्धान गरिरहेको थियो । तर, करिब १५ दिनपछि यो प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)को हातमा पुगेको छ । उक्त केस पाए लगत्तै सीआइबीले अनुसन्धानलाई तीव्रता दिएको छ । र, सीआइबीको अनुसन्धानका क्रममा थप रहस्यहरू खुल्दै गएका छन् ।
सीआइबीसँगको बयानका क्रममा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले सुन तस्करीका साझेदार नेतापुत्रहरुको नाम लिएका छन् । सीआइबी स्रोतका अनुसार दावाले पूर्व गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल सुन तस्करीको साझेदार रहेको बयान दिएका छन् ।
दावाको बयानपछि धेरै नेक्ससहरू खुल्दै जाने अनुमान गरिएको थियो । यसै क्रममा उनले दुई शक्तिशाली नेताको छोराहरूको नाम लिएका हुन् । अनुसन्धानको क्रममा अन्य नेता वा नेताका आफन्तको नाम समेत खुल्न सक्ने अनुमान गरिएको छ ।
त्यसै गरी, माओवादी नेता कृष्णबहादुर महरा र छोरा राहुल पनि सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिइसकेको छ । ६० किलो सुन तस्करी प्रकरण अगाडि सुन तस्करीकै ‘भेप काण्ड’ बाहिरिएको थियो ।
विभिन्न देशबाट इलेक्ट्रिक चुरोट भेपमार्फत नेपालमा सुन तस्करी गर्दै आएका चिनिया नागरिकको भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पक्राउ परेको थियो । सुनयुक्त उक्त भेप छुटाउन महरा र छोरा राहुलले सायौ पटक प्रयत्न गरेका थिए ।
सुन छुटाउन लागिपरेका महरा र छोरा राहुलले उक्त सुन तस्करसँग सयौँ पटक फोन संवाद गरेको तथ्य सीआइबीले फेला पारिसकेको छ । र, सीआइबीले महरा र छोरा राहुलमाथि अनुसन्धान गर्नुपर्ने प्रतिवेदन तयार पारेको छ । यसै आधारमा उक्त तस्करीमा महरा र छोरा राहुल संलग्न रहेको आशङ्का गर्ने ठाउँ धेरै छ ।
सुन तस्करीमा अन्य नेता र नेता पुत्रको पनि संलग्नता रहेको अनुमान गरिएको छ । सीआइबी स्रोतका अनुसार सुन तस्करसँग अन्य नेता र नेताको परिवारसँग सम्बन्ध रहेको भेटिएको छ । सुन तस्करसँग सम्बन्धमा रहेकाहरूको अनुसन्धानमा सीआइबी लागेको छ ।
सुन तस्करीको विषयलाई नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको छ । एमालेले संसदीय छानबिन समिति बनाएर सुन तस्करीको अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ । तर, अन्य दल र नागरिकले भने सीआइबीले नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका छन् ।
विगतमा संसदीय समितिहरूले गरेको अनुसन्धान गुपचुप राख्ने गरिएको घटनाले आम नागरिकमा संसदीय छानबिनप्रति विश्वास छैन । यस्तो अवस्थामा एमालेले संसदीय छानबिन समितिमै जोड दिनुलाई सन्देहात्मक रूपमा हेरिएको छ ।














