
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिवार काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले कांग्रेस बलियो हुनुपर्ने बताएका हुन् ।
उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए । सिंहले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नुपर्ने समेत बताए ।
‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन्’ उनले भने, ‘कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ रु भन्ने कुरामा प्रश्न शुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ ।’
नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।














