
काठमाडौं । चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण गरिने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो ।
‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ ।
केही दिनअघि नेपालका लागि चीनका राजदूतलगायतको टोलीले ‘अन्डरपास’ निर्माण गरिने ठाउँको अवलोकन गरेको थियो ।
त्यसपछि ‘अन्डरपास’ निर्माणका लागि नेपाल र चीनबिच सहमति भएको हो । यसअघि चीनले चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलङ्की १०.३९ किमी) आठ लेनमा विस्तार गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ ।
दोस्रो चरणमा चक्रपथको कलङ्कीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । चक्रपथको कलङ्कीदेखि धोबीखोला (चाबहिल) पुलसम्मको कुल लम्बाइ ११.६ किलोमिटर छ ।
कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । महाराजगन्जदेखि कोटेश्वरसम्म तेस्रो चरणमा विस्तार गरिने सडक विभागले जनाएको छ ।














