Logo
Logo

‘गोधूलि गीत जनयुद्धको दस्तावेज’


693
Shares

काठमाडौं । लेखक भानु बोखिमको उपन्यास गोधुलि गीतबारे चितवनमा अन्तरक्रिया सम्पन्न भएको छ । गीतमा दश बर्ष लामो माओवादी युद्ध र त्यसको प्रभावको बिषय समेटिएको छ । लेखक सिर्जन अविरलले सहजीकरण गरेको अन्तरक्रियामा समिक्षक प्रभा मरहट्टा, अविरल यात्री र लेखक बोखिम सहभागी थिए ।

प्रभा मरहट्ठाले गोधूलि गीत जनयुद्धको दस्तावेज भएको बताउँदै युद्धमा लडेकाहरूले परिवर्तनको सपना देखेको बताइन् । तर परिवर्तनको अपेक्षा अनुरुप वर्तमान समय नआएको कुरापनि उपन्यासले समेटेको बताइन् । कसरी एक किसोरी पढाइ छाड्न बाध्य हुन्छे । साथै उसलाई कसरी प्रभावित पार्दै लग्छ भन्ने बिषय र घटनाक्रम गोधूलि गीतमा समेटिएको छ ।

समिक्षण अविरलले ताप्लेजुङमा जन्मिएका बोखिमले रोल्पाको कथा लेख्नु भनेको जनयुद्ध आँट्नु जत्तिकै साहसी काम भएको बताए ।

‘जनयुद्ध भोगेर या प्रत्यक्ष सामेल भएर लेखिएको भन्दा पनि रोल्पा जाँदा संगालेका अनुभवको आधारमा बोखिमले यो उपन्यास लेखेका हुन्,’ यात्रीले भने । रेडियो नाटकमा कलम चलाएका उपन्यासकारले यो उपन्यास पनि नाटकीय शैलीमै लेखेको उनले दावी गरे ।

गोधूलि गीत किन पढ्ने प्रश्नमा– युद्धलाई तटस्थ तरिकाले हेर्नको लागि उपन्यास पढ्नुपर्ने उनले बताए । युद्धरत पक्षलाई उपन्यासले राम्रो नराम्रो नभएर दुवैलाई समान दुरीमा बसेर नियालेको उनको भनाई थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टिप्पणीकार उदय अधिकारीले सशस्त्र युद्धलाई आधार मानेर नेपाली साहित्यमा धेरै उपन्यास लेखिएको चर्चा गर्दै गोधूलि गीतले पनि त्यहि युद्धलाई फरक ढंगले प्रस्तुत गरेको बताए ।

‘कतिपय उपन्यास लडाकु आफैले लेखेका भए पनि बोखिमले देश भ्रमणका क्रममा सुनेका र देखेका कुरालाई आधार बनाएर उपन्यासमा उतारेका छन्,’ अधिकारीले भने ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले अध्यक्षता गरेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । पुस्तकलाई कलम प्रकाशनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्