Logo
Logo

कोही अदालत गए विश्वासको मत खारेज हुनसक्छ- भीमार्जुन आचार्य


11k
Shares

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षलाई मतदान गराएर संवैधानिक व्यवस्थाको हुर्मत लिने काम भएको बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्ष ईस्राईल मन्सुरीले पक्षमा मतदान गराएर संवैधानिक व्यवस्थाको हुर्मत लिने काम भएको उनको भनाइ छ । सर्वोच्च अदालतले केही समय अगाडि मात्रै सभामुख या सभाध्यक्षको काम, कर्तव्य र अधिकारबारे थप व्याख्या गरेको भन्दै संविधानविद् आचार्यले कोही अदालत पुगे मुख्यमन्त्रीले सभाध्यक्षको मतबाट पाएको विश्वास गुम्न सक्ने समेत बताएका छन् ।

संविधानविद् आचार्यले भने– ‘कोशीमा पुनः एक पटक संवैधानिक व्यवस्थाको हुर्मत लिने काम भएको छ । सभाध्यक्षले निर्णायक मतदान मात्र गर्न पाउने संविधानमै स्पष्ट उल्लेख छ । यसबारे सर्वोच्चले भर्खरै मात्र थप व्याख्या गरेको छ । तर, आज कोशीमा विश्वासको मत पुर्‍याउन सभाध्यक्षले मतदान गरेका छन् । यो असंवैधानिक छ । कोही  अदालत पुगे मुख्यमन्त्रीले पाएको विश्वासको मत खारेज हुने सम्भावना रहन्छ ।’

आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए । उपसभामुख सिर्जन दनुवार बिरामी बिदा लिएर बसेपछि सभाध्यक्षको जिम्मेवारी पाएका मन्सुरीले प्रदेशसभा सदस्यकै हैसियतमा मतदान गर्दै ४७ मत पुर्‍याएर विश्वासको मत दिलाएका  हुन् ।

बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख दनुवारले सभा सञ्चालन गरेको भए मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाउने अवस्था थियो । तर, अन्तिम अवस्थामा बिरामी भएको भन्दै उपसभामुखले बिदा लिँदा सत्ता गठबन्धन अप्ठ्यारोमा परेको थियो ।

उपसभामुख बिदामा बसेपछि कांग्रेसका मन्सुरीले ज्येष्ठ सदस्यको रूपमा सभा सञ्चालन गरेका थिए । सभाध्यक्षको रूपमा आफैले सभा सञ्चालन गरेका मन्सुरीले मतदान गरेका कारण थापाले पाएको विश्वासको मतमा संवैधानिक प्रश्न उब्जेको छ ।

सँगै, मुख्यमन्त्री थापाको विश्वासको मतको विषय न्यायालय पुग्ने निश्चित भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अब यो विषय अदालतले टुंगो लगाउने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्