Logo
Logo

प्रचण्ड बन्ने ओलीको चाहनामा विद्या बाधक बन्लान् ?


2.7k
Shares

काठमाडौं । एमालेको दशौँ महाधिवेशन सम्पन्न भएको डेढ वर्ष वित्दा नबित्दै नयाँ नेतृत्वको विकल्पमा चर्चा चुलिएको छ । दशौँ महाधिवेशनपछि थप निरंकुश बन्दै गएका अध्यक्ष केपी शर्मा ओलीको अलोकप्रियता र असफलताका कारण महाधिवेशन सम्पन्न भएको छोटो अवधिमै विकल्पको खोजी सुरु भएको हो । ओलीको एकपछि अर्को निर्णयले उनको ग्राफ झर्दै गएको छ ।

ओलीमा निरंकुश तानाशाही प्रवृत्ति हाबी हुँदै गएका कारण एमालेमा विकल्पको खोजी भएको हो । ओलीमा राजनीतिक सुझबुझ भएको भए गत निर्वाचनमा पनि वाम तालमेलको सम्भावना हुन्थ्यो । तर, उनको अहंले संघ र प्रदेशमा एमाले बढारिन पुग्यो ।

दुईतिहाइबाट प्रतिपक्षमा पुगेका ओलीलाई सत्तामा पुग्न हतारो छ । त्यही हतारोले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री त बनाए तर, कांग्रेससँग गठबन्धन भत्काउन सकेनन् । यही निर्णयबाट पनि ओली असफल हुँदै गएका छन् । ओलीको असफलताबाट एमालेलाई जोगाउन ओलीकै गुट ओलीको विकल्पको खोजीमा छन् ।

एमालेको पछिल्लो निर्णय ७० वर्षे उमेरहद हटाउनु र पार्टीका कार्यक्रममा ओलीको फोटो मात्र राख्ने सर्कुलरले ओली थप अलोकप्रिय बनेका छन् । ११औँ महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको चर्चा चुलिएपछि झस्केका ओलीलाई आफ्नै गुटका शंकर पोखरेल र विष्णु पौडेल थप चुनौती बन्दैछन् । त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ र ईश्वर पोखरेल पनि भावी अध्यक्षको लाइनमा छन् ।

एमालेले प्रदेश कमिटीको अधिवेशन असोजभित्र सम्पन्न गर्न सर्कुलर जारी गरेको छ । प्रदेश कमिटीमा कस्तो नेतृत्व आउँछ भन्ने कुराले पनि भावी नेतृत्वको आँकलन गर्न सकिन्छ । जे होस् एमालेभित्र भावी नेतृत्वको चर्चा चल्नु ओलीको लागि टाउको दुखाईको विषय भए पनि एमालेलाई ओली प्रवृत्तिबाट जोगाउन ओलीको विकल्प खोजिएको कुरा ओलीले बुझ्न ढिलो गर्नुहुँदैन ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका भण्डारी राजनीतिमा फर्किने चर्चापछि ओलीले त्यस्तो सम्भावना नरहेको भन्दै इन्कार गरेका थिए । ७० वर्षे उमेरहद हटाउने निर्णयको विरोध गर्नेको संख्या बढ्नुका साथै अन्य नेताले पनि भावी नेतृत्वको लागि सक्रियता बढाएपछि ओलीले भण्डारीलाई पार्टीमा निषेध नगरिएको दाबी गरेका छन् । यसअघि भण्डारीको राजनीतिमा आउने चर्चालाई ओलीले एमालेभित्र नयाँ विवाद र समस्या ल्याउने प्रयास भन्ने टिप्पणी गरेका थिए ।

आइतबार विराटनगरमा ओलीले भने, ‘उहाँ (विद्या भण्डारी)ले राजनीति गर्छु भन्दा रोक्ने को ? उहाँलाई कसले रोक्छ, कसरी रोक्छ । हामी त उहाँलाई निषेध गर्दैनौँ ।’ ओलीले भण्डारीलाई स्वागत गर्दै पार्टी आएर राम्रो नेतृत्व गर्दा हुने बताए ।

विचार, सिद्धान्त र नीतिभन्दा पनि अरुलाई गाली गरेर ओली अगाडि बढेका छन् । उनका भाषणमा गाली र ब्यंग्यभन्दा अरु केही पनि पाइँदैन । एमाले कार्यकर्ताहरू विचारले होइन, डर र त्रासले ग्रस्त छन् । विचार र सिद्धान्तको कुरा गर्दा कतै भीम रावल भइने त होइन भन्ने चिन्ता अधिकांशमा देखिन्छ । ओलीमा भने व्यक्तिवादी अहंकार र घमण्ड घटेको छैन । बरु, विद्या आएर पार्टी सम्हाल्दा केही राम्रो हुन्छ कि भन्नेमा अधिकांश नेता तथा कार्यकर्ता देखिन्छन् । भण्डारी निवासमा नेता तथा कार्यकर्ताको उपस्थिति पछिल्लो समय दिनप्रतिदिन बाक्लिदै गएको छ ।

दुई महिना अघि अर्थात, असार १४ गते मदन भण्डारीको जन्मदिनको अवसरमा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अंगालेको आरोप लगाए । जुन बाटोमा आफू स्वयं हिड्दै थिए, कांग्रेसतिर लक्षित गरेर आफ्नो बाटो त्यता तय भएको ओलीले संकेत गरेका थिए । ‘नाथुराम गोड्सेको खोजी गर्ने काँग्रेसले प्रचण्ड पथ अँगालेको छ’, उनले भनेका थिए ।

उनले कांग्रेसलाई मात्र होइन माओवादी र प्रचण्डपथलाई पनि उत्तिकै आलोचना गर्ने गरेका छन् । पहिचानवादीहरुले एक पटक ओलीलाई झापा र इलामको कार्यक्रममा अवरोध गरेर कालो झण्डा देखाएका थिए । फर्केर काठमाडौं आएपछि त्यसको संरक्षण प्रचण्डपथबाट भएको भन्दै माओवादी अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । ‘यो सबै पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू हो,प्रचण्ड पथबाट भएको हो, प्रचण्डपथ अझै गएको छैन, प्रचण्ड पथ भनेको देशद्रोही पथ हो, अपराधि पथ हो, ओलीलाई सुनैसुनको भेस्ट लगाइदिने पनि माओवादीहरू नै हुन्, प्रचण्ड पथहरू हुन’, उनले आक्रोसित हुँदै प्रचण्डको आलोचना गरेका थिए ।

आफैले बारम्बार आलोचना गर्ने प्रचण्डपथमा भने ओली स्वंय लम्किरहेको उनले पत्ता पाएका छैनन् । एमालेले आफूलाई कांग्रेसभन्दा पनि लोकतान्त्रिक पार्टीको रुपमा कार्यकर्तामाझ दाबी गर्दै आएको छ । उन्नतस्तरको लोकतान्त्रिक अभ्यास गरेको भन्दै संसद र संसदबाहिर पनि एमाले नेताहरुको अभिव्यक्ति आउने गरेको छ । सांगठानिक संरचना र त्यसको निर्वाचन प्रणाली हेर्दा आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरुको भन्दा लोभलाग्दो नै थियो ।

जब एमालेले चितवनमा १०औं महाधिवेशन गर्यो, त्यसपछि उसले भन्ने गरेको आन्तरिक लोकतान्त्रिक पद्धति नारायणी नदीमा बग्यो । १०औ महाधिवेशनपछि ओलीले आफूलाई शक्तिशाली बनाउँदै लगे पार्टीका सबै संरचनामा ओली र ओली निकट रहेका नेताहरुको हाबी हुन थाल्यो । त्यतिमात्र होइन डेढ वर्षअघि भएको एमालेको महाधिवेशनमा पार्टीको नीति, वैचारिक मार्ग तथा भावी राजनीतिक कार्यदिशाभन्दा पनि नेतृत्व चयनले प्राथमिकता पायो ।

एमालेको महाधिवेशन नै ओलीमय बनाइएको थियो । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा ओलीलाई एमालेको पर्याय र ओलीबिना एमाले नै नरहनेजस्तो गरी प्रचार गरिएको थियो ।

एमालेको उद्घाटन कार्यक्रमको बीचमा देखाइएको एक वृत्तचित्रमा ओलीलाई पार्टीभन्दा माथि देखाउनुका साथै एमाले नेतृत्वको सरकारले गरेका काम, अघि सारेका योजना सबैको जस ओलीलाई दिएर चिनियाँ राष्ट्रपति सी जिङ पिङको झल्को दिइएको थियो । राष्ट्रपति सीले जस्तै दायाँ हात हल्लाएको फोटो सौराहको गल्ली गल्लीमा टाँसिएको थियो ।

व्यक्तिको देवत्वकरणले कुनै पनि पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाउछ । एमालेमा अहिले ओली सबैका ‘बा’ का रुपमा चर्चित छन् । उनले आफ्नो यूटव च्यानल सस्क्राइब गर्न आन्तरिक रुपमा फर्मान नै जारी गरेका छन् । यी सबै घट्नाक्रम पार्टीभन्दा माथि व्यक्तिलाई राखेको परिदृष्य हुन् ।

एमालेले अध्यक्ष ओलीको हस्ताक्षरसहित जारी गरेको पछिल्ला दुई अन्तरपार्टी निर्देशनलाई उदाहरणको रुपमा लिने हो भने पूर्णतयाः ओलीलाई केन्द्रमा राखेर अपानि जारी भएका छन् । जबकि, ओलीले जारी गरेको अपानिमा भनिएको छ, ‘कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्नेगरी अतिथि र बक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आशनग्रहणको उदघोषण गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ ।’

यो अपानिको कार्यान्वयन ओली उपस्थित कार्यक्रममा लागु हुँदैन । त्यसको अर्को उदहारण पनि हेर्न सकिन्छ । ‘सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी सार्वजनिक कार्यक्रममा (तीन अग्रजका अतिरिक्त) पार्टी अध्यक्ष ओलीबाहेक अन्य फोटो प्रयोग नगर्ने’ निर्णय गरेको छ । जसले गर्दा ओलीलाई केन्द्रमा राखेर यस्तो निर्णय गरेको हो भन्न कत्ति पनि कठिन छैन ।

ओलीको व्यवहार, अभिव्यक्ति र नीतिगत निर्णय पनि प्रचण्डपथमै पुगेको छ । २०५७ माघ–फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा माओवादी पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ’ पारित भएपछि आठ वर्षसम्म माओवादीले यसैअनुरुप आफ्ना वैचारिक–राजनैतिक, सांगठनिक र फौजी कारबाही सञ्चालन गर्यो ।

२०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि पनि प्रचण्डपथ कायमै रह्यो । २०६४ चैतमा पहिलो संविधानसभा चुनावमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अबलम्बन गरिरहेको थियो । २०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा आयोजना गरेको बहुचर्चित राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा पनि प्रचण्डपथबारे लेखिएको थियो । त्यसपछि माओवादीमा मोहन वैद्य, सीपी गजुरेल लगायतका नेताहरूले यसलाई मान्यता दिएनन् ।

अन्नतः माओवादीले प्रचण्डपथ छाड्यो । तैपनि माओवादीमा विगत ३० वर्षदेखि प्रचण्डले नेतृत्व गर्दै आएका छन् । केही समय उनी माओवादीमा मात्र होइन नेपालको राजनीतिकै केन्द्र भागमा देखिने अवस्था छ ।

प्रचण्डले जस्तै ओलीले एमालेलाई १० वर्ष नेतृत्व गरिसकेका छन् । नवौ महाधिवेशनबाटै ओलीले एमाले कब्जा गरेका हुन् । आठौ महाधिवेशनले पास गरेको ७० वर्षे उमेर हदलाई चितवन महाधिवेशन सकिएपछि उडाइदिए । जबकि, ७० वर्षे उमेर हद लागु हुनु अगावै उनले दशौ महाधिवेशन गरेर दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका थिए ।

दोस्रो कार्यकाल अध्यक्ष चुनिदै गर्दा उनले उमेरहद कायम राखेको भएपनि त्यसको एक वर्षपछि नेकपा एसबाट मकुन्द न्यौपाने एमालेमै फर्किने र उनलाई जिम्मेवारी दिने बहाना बनाएर उमेद हद निलम्बन गरिदिए ।

उमेर हद निलम्बन गर्दा पार्टीका दुई सचिव योगेश भट्टराई र गोकर्ण विष्ट बाहेक कसैले पनि विरोध गर्न सकेनन् । त्यतिमात्र होइन १० औँ महाधिवेशन आफू सर्वसम्मत अध्यक्ष नभएको प्रतिशोधमा भीम रावल र घनश्याम भुसाललाई निर्वाचनमा टिकटसमेत दिएनन ।

भुसाल माधव नेपालको पार्टी एकीकृत समाजवादीमा प्रवेश गरे, रावल निर्वाचनको अवधि र त्यसपछि पनि कतै सक्रिए भएनन् । केही दिनअघि मात्रै ओलीले बोलाएर एक चरण कुराकानी गरे । तर, अझै जिम्मेवारी पाएका छैनन् । पछिल्लो पटक पनि पार्टीभित्र उनी र उनी निकट कोटरीमा रहेका भारदारहरुको मात्रै निर्णय हावी भएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने सवालमा गैर भूगोलमा ‘सिडियो’ सरुवा गरे जसरी सरुवा गरेर जबर्जस्ती जान बाध्य पारिएको छ । गैर भूगोलमा पुगेका कतिपय नेताहरूले आफूहरुलाई जनतासँग टाढा राखेको बताउदै आएपनि उनीहरूको कुरा सुनुवाइ हुन सकेको छैन । गैरभूगोलमा जान आनकानी गरेका नेताहरुलाई कारबाही गर्ने धम्की दिएर जबर्जस्ती पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्