Logo
Logo

डा.गोविन्द केसीका समर्थक रेग्मीलाई पर्यटन बोर्डको सीईओ नियुक्ति गर्ने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं,३ माघ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा डा. गोविन्द केसीको चिकित्सा क्षेत्र सुधारका लागि गरिएको अनसनका कट्टर समर्थक धनन्जय रेग्मी नियुक्त हुने भएका छन् । डा. केसीको अनसन बितण्डा भएको भन्दै त्यसको कडा प्रतिवाद गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नै उनलाई संभवतः शुक्रबार साँझसम्ममा बोर्डको सिईओ नियुक्ति गर्दैछन् ।

धनन्जय रेग्मीले डा. केसीको समर्थनमा पोष्ट गरेको फोटो र उनले सेयर गरेको डा. केदारभक्त माथेमाको अन्तर्वार्ताको स्क्रीन सर्ट ।

मन्त्री भट्टराईले दीपकराज जोशीलाई नै पुनः एक कार्यकालका लागि सिईओ बनाउने चर्चा चल्दैआएको थियो । तर ९ जनाको सर्टलिष्टिङको लागि विज्ञका रुपमा पर्यटन मन्त्रालयका पूर्वसचिव कृष्ण देवकोटालाई राखेपछि उनी जोशीलाई बनाउन चाहँदैनन् भन्ने पुष्टी भएको छ । देवकोटाले जोशीलाई फिटिक्कै मन पराउँदैनन् । देवकोटालाई विज्ञमा राखिएपछि नै जोशी पुनः नदोहोरिने पक्काजस्तै भएको छ ।

बोर्डको सिईओ नियुक्ति शुक्रबार (आजै)गर्ने तयारी छ । सीईओका लागि निवेदन दिएका १७ मा ९ जनाको सर्टलिष्टिङ भइसकेको छ । सर्टलिष्टिङमा दीपकराज जोशी, धनन्जय रेग्मी, बच्चुनारायण श्रेष्ठ, नवीन पोखरेल, काशी भण्डारी, सूर्य थपलिया लगायत परेका छन् । शुक्रबार ९ जनाबाट छनोट समितिले ३ जनाको नाम सिफारिस गरेपछि मन्त्री भट्टराईले रेग्मीलाई नियुक्ति गर्ने बताइएको छ । रेग्मी मन्त्री भट्टराईको गृहजिल्ला ताप्लेजुङका ब्यवसायी इश्वरी पौडेलका ब्यापारिक साझेदार हुन् ।

पौडेलको काष्ठमण्डप एयरलाइन्स र हाइड्रोपावरमा रेग्मी पनि पार्टनर हुन् । तर रेग्मी बैचारिक हिसाबले नेपाली कांग्रेसका समर्थक हुन् । त्यही भएर उनी गोविन्द केसीको अनसनका अभियन्ता नै हुन् । उनले डा केसीको अनसनमा ऐक्यबद्धता जनाएका तस्वीरहरु पनि सामाजिक संजाल फेसबुकमा सेयर गर्ने गरेका थिए । ती सेयर गरिएका कन्टेन्ट र तस्वीरमध्ये धेरै उनले डिलिट गरिसकेका छन् । केही स्क्रीनसट दृष्टिलाई पनि प्राप्त भएका छन् ।

रेग्मी अटोमोवाइल ब्यवसायमा पनि संलग्न छन् । उनको लैनचौरको स्काउट भवनसँगै टोयटा गाडीको सोरुम छ ।

प्रतिक्रिया दिनुहोस्