
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने भएका छन् ।
सन्दीपले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज नखेल्ने निर्णय गरेका हुन् । उक्त सिरिजका खेलहरु यहि १ कात्तिकदेखि १० गतेसम्म हुँदैछ ।
नाबालिक बलात्कार आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत आफुले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन् । ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु,’ उनले भनेका छन् ।
यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् । उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’
लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाको पेसी बिहीबारको लागि तोकिए पनि सुनुवाइ हुन सकेन।
गत वर्षको भदौमा एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध जाहेरी दिएकी छन्। नाबालिक बालात्कार मुद्धाको आरोप लागेपछि सन्दीपको खेल जिवन उतारचढावपूर्ण बनेको छ।














