काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ ।
आज (बुधबार) मुलपानी क्रिकेट मैदानमा भएको खेलमा घरेलु नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ अभोर ५ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपाललाई जित दिलाउनको लागि ५१ रनभित्र तीन विकेट गुमाएपछि दबाबमा आएको नेपालको इनिङ कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । कप्तान पौडेलले अर्धशतकीय पारी खेले । उनले ४० बलमा ४ चौका प्रहार गर्दै ५१ रन जोडे । त्यस्तै ऐरीले ३४ रन बनाए ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा विस्फोटक ब्याटर कुशल मल्ललाई सस्तैमा गुमाएपछि नेपाल दबाबमा आएको थियो । भुर्तेल १४ र आसिफ २३ रनमा आउट भए । त्यस्तै कुशल मल्ल ११ रनमा आउट भएका थिए ।
त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो ।
यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाएका थिए । यस्तै अली नासिरले ३२ रन जोडेका थिए ।
नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात लिएका थिए ।
विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ ।














