काठमाडौं । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बस्यो ।
बैठकमा पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द्र ‘विप्लव’ पनि सहभागी भए । उनी, नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित बालुवाटार पुगेका थिए ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सरकारी निवास पुगेका विप्लव आफूहरूलाई सहमति भनेर अलमल्याउँदै घेराबन्दीमा पार्ने ? भन्दै बम्किए । बैठकमा उनले खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरे ।

उनले सरकारमा रहेका कारण प्रधानमन्त्रीसमेत संलग्न भएर समाजवादी मोर्चा निर्माण गर्ने, आफूहरूसँग सहमति गर्ने र अदालतबाट किन पक्राउ पुर्जी जारी गरियो भन्दै प्रश्न गरे । राज्यले दोहोरो चरित्र देखाएको भन्दै त्यो सह्य नहुने उनको चेतावनी थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । सहमति पनि गर्ने र फेरि घेराबन्दी पनि गर्ने जुन खालका चित्रहरू देखिएका छन्, यो हामीलाई सह्य छैन ।’
काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको राज्यविरुद्धको कसुरमा महासचिव विप्लवसहित नेकपामा पोलिटब्युरो सदस्य प्रकाण्ड, माइला लामा, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भूमिगत हुँदा गरेको गतिविधिविरुद्ध परेको मुद्दाका कारण अहिले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोगमा उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले २०७६ असोज ९ गते मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा सरकारी वकिलले अभियुक्तहरूको ठेगाना खुलाउन नसकेपछि यही मंसिर १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले पत्रिकामा सूचना छाप्ने आदेश दिए । सोही बमोजिम गत मंसिर १८ गते उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रकाशित भएको थियो ।
उक्त सूचना प्रकाशित भएको एक हप्ता नबित्दै मंसिर २३ गते नेकपा प्रवक्ता प्रकाण्ड प्रधानमन्त्री प्रचण्डलाई भेट् बालुवाटार पुगेका थिए । त्यसबेला उनले प्रधानमन्त्रीसँग आफूहरूविरुद्ध जारी भएको पक्राउ पुर्जीको विषयमा कुरा उठाएका थिए । त्यस्तै आफूहरूसँग भएको सहमतिबारे पनि उनले प्रधानमन्त्रीलाई स्मरण गराएका थिए ।
प्रचण्डले त्यस विषयमा आफू निकै गम्भीर भएको र आफूलाई समेत जानकारी विना पक्राउ पुर्जी आएको बताएका थिए । उनले सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका लागि कानुनी र राजनीतिक बाटोबाट समाधान खोज्ने आश्वासन दिएका थिए ।
प्रकाण्डले भने राज्यले गरेको सहमति विपरित कुनै एउटा अदालतको न्यायाधीश जान नपाउने बताउँदै अदालतको निर्णय यथाशीघ्र सच्याउन सुझाव दिएका थिए । तर, अदालतको निर्णय नसच्चिएपछि र सरकारले पक्राउ पुर्जीबारे खासै चासो नराखेपछि आज बिहानको बैठकमा विप्लव बम्किएका हुन् ।
सोही विषयमा छलफल गर्न आज साँझ पनि समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक बालुवाटारमा बस्ने मोर्चाले जनाएको छ ।














