Logo
Logo

भन्सारबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न आजपाको माग 


378
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ । 

बिभिन्न माग गर्दै आम सम्पर्क मञ्चले शुरू गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज ११औं दिन पनि काठमाडौं त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ । 

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ । 

आन्दोलनमा सहभागि आजपा उपाध्यक्ष तिलक थापाले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्नुपर्ने बताए । 

‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो ? यो आम जनताले जान्न जरुरी छ । यो ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खुलेआम लुट हो किनकी यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुगछन् । यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ’ उपाध्यक्ष थापाले भने । 

यस अघि आन्दोलनमा सहभागीहरूले ‘अर्थमन्त्री प्रकाशशरण महतको राजिनामा समेत माग गरेका छन् । आजपाको आह्वानमा शुरु भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनवाई गरेकाे  छैन । 

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन् । आफूहरूको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताए । 

आफूहरूको चरणबद्ध आन्दोलन जारी नै रहेको भए पनि सरकारले माग सम्बोधनमा ढिलाई गरेको प्रति समितिका संयोजक साहले दुख व्यक्त गरे । सरकारले आफूहरूको माग सम्बोधन नगरेसम्म शान्तिपूर्ण आन्दोलन अगाडि बढीरहने उनले बताए  । 

भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारविरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदै आएको छ । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग छ ।

प्रतिक्रिया दिनुहोस्