
म्याग्दी । म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।
पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको संघलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।
रोका दम्पतीले संघलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन् ।
शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरेका थिए ।
हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ ।
संघको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।
यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा लाएका थिए ।














