रौतहट । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहटको मौलापुर स्थित शहीद स्मृति सभाहलमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नभएको बताए ।

अब देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल रहेकोले यसलाई तत्काल विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने सुझाव समेत अध्यक्ष साहको रहेको छ ।
‘अन्तरिम सरकार गठनमा यदि कुनै तत्व बाधक बन्छ भने तपाईँ हामी देश र जनताको पक्षमा आईटी आर्मीको अर्धसैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ’ साहले भने ।
आम जनता पार्टीको स्थापना दिवसको शुभ अवसरमा हजारौं युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले भ्रष्टाचारको विरुद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने भएको छ ।
झण्डै ५ दिनसम्म चल्ने ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताका लागी आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ्, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश इन्चार्ज सुधीर यादव लगायतका नेताहरूले हार्दिक शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।














