
काठमाडौं । नेपाली भ्लगर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा आयोजना गरेको साकेला उत्सवमा सहभागी हुन सिक्किमको नाम्ची पुगेकी उनलाई शुक्रबार गान्तोकबाट पक्राउ गरिएको हो ।
उनलाई सामाजिक सद्भाव’ बिथोलेको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सिक्किम प्रहरीले जनाएको छ ।
उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ । यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले राईलाई सिक्किम सरकारले झुटो आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।














